रजतपटविरुद्ध गरिमा शर्माले कानुनी उपचार खोज्ने

रजतपटविरुद्ध गरिमा शर्माले कानुनी उपचार खोज्ने

काठमाडौं । मोडल गरिमा शर्माले टेलिभिजन कार्यक्रम रजतपट र त्यसको प्रस्तोता प्रकाश सुवेदी विरुद्ध कानुनी उपचार खोज्ने भएकी छन् । आफु र मोडल तथा गायक दुर्गेश थापाबीच केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका टुक्राटुक्री तानेर राष्ट्रिय टेलिभिजनमा सामाग्री प्रसारण गरेर आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप समेत उनले सुवेदीलाई लगाएकी छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै शर्माले असार २४ गते एपिवान टेलिभिजनबाट प्रसारित रजतपट कार्यक्रममा आफ्नो बिषयमा अतिरञ्जित र भ्रमपूर्ण रिपोर्ट प्रसारण गरेको भन्दै गम्भिर आपत्ति जनाएकी छन् । विज्ञप्तीमा भनिएको छ– ‘केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका टुक्राटुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो ।’

‘उक्त सामाग्री तयार गर्नुअघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी ज्यूसँग टेलिफोन सम्पर्क भै, सामान्य बिषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनि सत्यतथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी वदनियतपूर्ण समाचार प्रसारित गर्नुले म माथि गम्भिर अन्याय भएको महशुस गरेको छु’ विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति:     २५ असार २०७८, शुक्रबार  |    Himali Khabar