काठमाडौं । ३८ वर्षदेखि राजनीतिमा सक्रिया रञ्जु झा विभिन्न दल हुँदै हाल नवगठित जनता समाजवादी पार्टीका सांसद हुनुहुन्छ । गत वैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन भएको थियो ।
लगत्तै पार्टी तत्कालीन प्रचण्ड नेतृत्वको सरकारमा ३ वटा मन्त्रालयसहित सरकारमा सहभागि हुने चर्चा चल्यो । तर २ वटा मन्त्री र १ राज्यमन्त्रीसहित पार्टी सरकारमा सहभागि भयो । रञ्जु झा भने प्रचण्ड सरकारमा छुटिन । नयाँ पार्टी निर्माणमा महत्पूर्ण भूमिका खेल्नु भएको झालाई सरकारलाई सहभागि गराउने पटक–पटक आश्वासन दिएपनि त्यो सफल हुन सकेन । अन्तत एमालले साथ छाडेपछि प्रचण्ड सरकार नै ढल्यो ।
अब एमाले र कांग्रेस मिलेर साना दलहरुलाई समेत सहभागि गराएर नयाँ सरकार गठनको गृहकार्यमा हुँदै गर्दा रञ्जु झाले साना दल मध्ये सबैभन्दा ठुलो जसपा भएकाले २ वटा मन्त्रालय सहित सरकारमा सहभागी गराउनुपर्ने दाबी पेश गर्नुभएको छ। सरकारमा सहभागि हुँदा पार्टीले यस पटक आफूलाई नै पहिलो नम्बरमा मन्त्रीमा सिफारिस गर्नुपर्ने दाबी छ । यो बीचमा संचारमाध्यममा मात्र मन्त्री भएको भन्दै यो पटक पनि छुटाएमा आफू माथि ठुलो अन्यया हुने गुनासो छ।
मन्त्रीका लागि पार्टीमा धेरै आकांक्षी भएपनि निस्वार्थ आफूलाई नै अघि बढाउनेमा आशावादी रहेको हुनुहुन्छ । हिमाली खबरसँगको कुराकानीमा उहाँले पार्टीले यस पटक पनि सरकारमा नपठाएमा विद्रोह गर्ने चेतावनी समेत दिनुभएको छ। उहाँले सबैभन्दा कम बजेट रहेको र ठुला दलहरुको प्राथमिकतामा खासै नपर्ने महिला, बालवालिका तथा सामान्य प्रशासन मन्त्रालयमा रहेर ६ महिना भित्रमा आमनागरिकले महसुश गर्ने गरि काम गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ।