चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक ५२० रुपैयाँले बढ्यो

चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक ५२० रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक पाँच सय २० रुपैयाँ बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै न्यूनतम पारिश्रमिक ११ हजार पाँच सय ६१ रुपैयाँबाट बढाएर १२ हजार ८१ रुपैयाँ तोकेको हो।

श्रम ऐन २०७४ को दफा एक सय ६ बमोजिम चिया बगानमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ मासिक पारिश्रमिक साउन १ गतेबाट लागू हुने छ ।

नयाँ तोकिएको न्यूनतम पारिश्रमिकभित्र आधारभूत पारिश्रमिक सात हजार सात सय ६९ र महंगी भत्ता चार हजार तीन सय १२ रुपैयाँ कायम गरिएको छ । यस्तै, दैनिक पारिश्रमिकमा आधारभूत दुई सय ८१ र महंगी भत्ता एक सय ५४ गरी जम्मा चार सय ३५ पुर्याइएको छ ।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar