साउन दोस्रो सातादेखि खुल्‍दैछ इजरायल रोजगारी

साउन दोस्रो सातादेखि खुल्‍दैछ इजरायल रोजगारी

काठमाडौं । वैदेशिक रोजगार विभागले एक हजार कामदार इजरायल पठाउनेगरी साउनको दोस्रोसाता सूचना निकाल्ने तयारी गरेको छ । नेपालको तर्फबाट सम्पूर्ण काम अन्तिम चरणमा पुगेकोले सूचना निकाल्‍ने तयारी रहेको विभागले जनाएको छ ।

नेपालको तर्फबाट कामदार पठाउन प्रक्रिया पूरा गरिसकेकाले साउनको दोस्रो सातादेखि इच्छुक र योग्यता पुगेका कामदारका लागि सूचना निकालिने विभागका निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिए । उनकाअनुसार इजरायली पक्षसँग अन्तिम परामर्श गरी सूचना निकाल्‍ने तयारी छ । कोभिड–१९का कारण निषेधाज्ञाको अवस्था परिवर्तन भएकाले यसअघि प्रकाशन हुने सूचना रोकिएको थियो ।

मन्त्रिपरिषद्बाट इजरायल कामदार पठाउन निर्देशिका स्वीकृत भए पनि कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै निषेधाज्ञा जारी भएकापछि कामदार पठाउने प्रक्रिया रोकिएको थियो । विभागले मस्यौदा गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले थप परिमार्जन गरी कानुन, परराष्ट्र र अर्थ मन्त्रालयबाट राय लिई स्वीकृतिका लागि मन्त्रिपरिषद् लगेको थियो ।

परीक्षा मोडालिटीका लागि इजरायल पक्षसँग छलफल भएकाले जस्‍तो मोडालिटीमा परीक्षा लिने भन्‍ने सुझाव आउँछ त्यहीँ अनुसार अगाडि बढ्ने उनले जनाए। ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष पठाउन सकिने उनले बताए ।

प्रकाशित मिति:     १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar