बाढीले मेलम्ची खानेपानी आयोजनामा झण्डै दुई अर्बको क्षति

बाढीले मेलम्ची खानेपानी आयोजनामा झण्डै दुई अर्बको क्षति

काठमाडौं । बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको हो ।

आयोजनाले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगको अनुमानमा आधारित भएर क्षतिको पूर्वानुमान गरेको हो । बाढीबाट सुरुङ जोगिए पनि आयोजनाको बाँधसहितका बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले पुरिएका छन् । बनेका संरचनामाथि नै खोला बगिरहेकाले नदी नियन्त्रणको काम पनि प्रभावकारी ढंगले गर्नुपर्ने अवस्था आएको छ ।

सुरुङ सुपरीवेक्षणका लागि भन्दै गत असार १ गते दुई महिनाको लागि बन्द गरिएको मेलम्ची खानेपानी आयोजनामा सोही दिन आएको बाढीले विध्वंश मच्चाएको थियो ।

प्रकाशित मिति:     ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar