मेलम्चीको पानी काठमाडौंमा ल्याउन कम्तीमा तीन महिना लाग्ने

मेलम्चीको पानी काठमाडौंमा ल्याउन कम्तीमा तीन महिना लाग्ने

काठमाडौं । मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा ल्याउन कम्तीमा तीन महिना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ ।

सो आयोजना स्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका कतिपय संरचनामा समेत क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले सडक खुलाएर र बेलिब्रिज राखेर आयोजनास्थलसम्म पुग्न सकेमा अस्थायी बाँधबाट भए पनि पानी ल्याउने लक्ष्य लिइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार वर्षाभरमा नै प्रवेशमार्ग र पुल बनाउन सकियो भने अबका तीन महिनामा पानी सुन्दरीजल झार्न सकिनेछ ।

अझै पनि वर्षा कति लम्बिन्छ वा वर्षाले संरचनामा अझै कति क्षति गर्छ भन्ने यकिन नभएकाले कति समयमा पुनः पानी ल्याउन सकिन्छ भनी यकिन नभएक छैन ।

प्रकाशित मिति:     २५ असार २०७८, शुक्रबार  |    Himali Khabar