काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)बाट प्राप्त हुने अनुदान र नेपाल सरकारको लगानीबाट कार्यान्वयन गरिने विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको छ। तर, यो परियोजनामा आउने रकमको विषयमा बिवाद कायमै छ ।
एमसीसी संसदबाट समेत अनुमोदन हुन सकेको छैन। तर, परियोजनाभित्र रहेको आयोजनाको काम अगाडि बढाउने भन्दै एमसीए–नेपालले विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गराएको हाे।
समितिले वन तथा वातावरण मन्त्रालयबाट आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गराएको हो। स्वीकृत प्रतिवेदनमा १ सय ८७ घरधुरी विस्थापन हुने र १० जिल्लामा पर्ने वनक्षेत्रमा रहेका २ लाख भन्दा बढी रुख कटान गर्नु पर्ने उल्लेख छ।
प्रस्तावित आयोजनाबाट कुल ९ सय ४३ जनसंख्या रहेको १ सय ८७ घरधुरीमा प्रभाव पार्ने उल्लेख छ। जसमध्ये ३७ घरधुरी रातमाटे सबस्टेशन र बाँकी १ सय ५० घरधुरी भोगाधिकार क्षेत्रको करिब ३ सय १३ दशमलब ९ किलोमिटर भूभागबाट विस्थापित हुने वातावारणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख छ।