सीएनएन । संक्रामक रोगका विशेषज्ञहरुले खोप नलगाउने मानिसहरु आफ्नो स्वास्थ्यलाई मात्र जोखिममा नपारेर विश्वभरका मानिसका लागि घातक हुन सक्ने बताएका छन् ।
त्यस्ता मानिसहरु कोरोनाबाट संक्रमित भएमा उनीहरु ठूलो खतरा बन्ने विज्ञहरु बताउँछन् किनकि नयाँ कोरोना भेरियेन्ट उत्पन्न हुने एकमात्र स्रोत भनेको संक्रमित व्यक्तिको शरीर हो । यसकारण पनि खोप नलगाउनेहरु सम्भावित भेरियेन्टको ‘फ्याक्ट्री’ भएको डाक्टर विलियम स्काफनर बताउँछन् ।
उनी भेन्डरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरमा संक्रामक रोग विभागका प्रोफेसर हुन् । उनले थप भनेका छन्, “जति बढी खोप नलगाउने मान्छे, त्यति नै गुणा बढी स्तरमा भाइरसले आफूलाई फैलाउने अवसर पाउँछ । र त्यसरी ठूलो स्तरमा फैलदै जाँदा यसले म्युटेट हुने अर्थात् जिन परिवर्तन गर्ने मौका पनि पाउँछ र नयाँ भेरियेन्ट उत्पन्न हुनेछ । यो भनेको पछिका लागि अत्यन्तै गम्भीर समस्या हो ।”
सबै भाइरसले वातावरणसँग अनुकूल रहन आफ्नो संरचनामा परिवर्तन ल्याइरहने गर्छन् र त्यसैगरी कोरोनाभाइरस पनि उत्पत्ति भएको समयको तुलनामा आज धेरै परिवर्तित भइसकेको छ । यसमा प्रायः बदलावहरु भाइरसका लागि केही होइनन् र कतिले त यसलाई कमजोर पनि पार्न सक्छन् । तर कहिलेकाहिँ त्यही सामान्य प्रक्रियाले भाइरसलाई ठूलो फाइदा पनि दिलाउँदछ जसले यसलाई संक्रमण गर्न सजिलो बनाइदिने, यसको फैलावट तीव्र बनाइदिने र शरीरको इम्युनिटी छल्न सक्ने जस्ता शक्ति दिलाउन सक्छ ।
त्यस किसिमको लाभदायक क्षमता भएका भाइरसले बिस्तारै अन्यलाई प्रतिस्थापन गरि सबैतिर आफूलाई व्याप्त बनाउँदछ । र, अन्ततः यसबाट संक्रमित हुने व्यक्तिबाट अर्कामा सर्दा भाइरसको नयाँ रुप पनि सँगै फैलिरहेको हुन्छ । यो रुपान्तरित भाइरस पर्याप्त फैलनमा सफल भएपछि यसैलाई नयाँ ‘भेरियेन्ट’ को नाम दिइन्छ ।
तर यो सबै प्रक्रियामा भाइरसले आफूलाई ‘रेप्लिकेट’ गर्ने अर्थात आफ्नो उत्पत्ति बढाउनु पर्ने हुन्छ । र खोप नलगाएका व्यक्तिले मात्र भाइरसलाई त्यस्तो अवसर दिलाउँछन् । किनकि फैलन नसक्ने भाइरसले आफूलाई म्युटेट गर्न या आफूमा परिवर्तन ल्याउन सक्दैन ।
अहिले भेरियेन्टहरुको उपस्थिति विश्वभर नै बढिरहेको छ यसमा बी.१.१.७ (अल्फा भेरियेन्ट) पहिलोपटक बेलायतमा देखा परेको थियो ।