५० अंकले सुधारियो शेयर बजार

५० अंकले सुधारियो शेयर बजार

काठमाडौं । तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो ।

‘क’ वर्गमा रहेका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ५८ दशमलवले बढेको छ । कारोबार रकममा भने खास उल्लास देखिएन । दिनभर भएका ६३ हजार ९ सय १६ कारोबारबाट २२९ कम्पनीका ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति:     १३ आश्विन २०७८, बुधबार  |    Himali Khabar