धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई निलम्बन गर्न कर्मचारी युनियनको माग

धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई निलम्बन गर्न कर्मचारी युनियनको माग

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न बोर्डको कर्मचारी संगठनले माग गरेको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै निलम्बन गरी कारबाही गर्न माग गरेको हो ।

नेपालमै पहिलोपटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा भेटिएको छ । बोर्ड अध्यक्षले बोर्ड आचारसंहिता विपरित छोरीको नाममा सेयर किनेको भनेर चर्को विरोध भइरहेको छ । कतिपयले बोर्ड अध्यक्षले ‘गोल्डेन सेयर’ लिएको समेत आरोप लगाएका छन् ।

यो विषय बाहिर आएपछि बोर्ड र अध्यक्षको प्रतिष्ठामा नै आँच आएको भन्दै कर्मचारी युनियनले कारबाही गर्न माग गरेका हुन् । यो घटनापछि अर्थमन्त्रालयले बोर्डको नाममा पत्राचार गर्दै ३ दिनभित्र स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सोधेको स्पष्टीकरण पत्रमा व्यक्तिको नाम उल्लेख नगरी कार्यालयको नाममात्रै उल्लेख गरेको छ ।

प्रकाशित मिति:     १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar