५९ वटा चिनियाँ कम्पनीमा अमेरिकी लगानी प्रतिबन्ध लगायो

५९ वटा चिनियाँ कम्पनीमा अमेरिकी लगानी प्रतिबन्ध लगायो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी लगानी प्रतिबन्धित चिनियाँ कम्पनीको संख्या विस्तार गरेका छन् । बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरी बाइडेनले ५९ वटा चिनियाँ कम्पनीमा अमेरिकी लगानी प्रतिबन्ध गरेका हुन् । बाइडेनको आदेशले चीन सरकारको सैन्य तथा निगरानी प्रयासहरुमा सघाउ पुर्याएको आरोप लागेका चिनियाँ कम्पनीहरुमा लगानी गर्न अमेरिकी लगानीकर्ताहरुलाई रोक लागेको छ ।

बाइडेनले चीनसँग सम्बन्धित विषयमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा नीतिलाई नै निरन्तरता दिएका हुन् । यसअघि ट्रम्पले ४८ वटा चिनियाँ कम्पनीमा अमेरिकी लगानीलाई रोक लगाएका थिए । चीनसँग अमेरिकालाई प्रतिस्पर्धी बनाउन बाइडेनले पनि ट्रम्पकै नीति पछ्याउने अनुमान गरिएको छ । अमेरिकी लगानी प्रतिबन्धित ५९ वटा कम्पनीमा हुवावे टेक्नोलोजिज, एरो इन्जिन कर्पोरेसन अफ चाइना, एरोसन कर्प, फुजीआन टर्च इलेक्ट्रोन टेक्नोलोजी लगायत छन् ।

बाइडेनको आदेशले चीनको रक्षा क्षेत्रमा अमेरिकी लगानी निरुत्साहित गर्नुका साथै चिनियाँ निगरानीको खतरालाई संबोधन गर्न अमेरिकाको क्षमता विस्तारमा पनि सघाउने बताइएको छ । यसका साथै बाइडेन र उनका आर्थिक सल्लाहकारहरुले चिनियाँ सामानहरुमा लगाइएको उच्च करलाई के गर्ने भन्ने पनि निर्धारण गर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति:     २१ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar