सुनको आपूर्ति बढाउन उद्योग मन्त्रीलाई व्यवसायीको आग्रह

सुनको आपूर्ति बढाउन उद्योग मन्त्रीलाई व्यवसायीको आग्रह

काठमाडौं, २० फागुन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा बिहिबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको बताए ।

भेटमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री भट्टसँग आग्रह गरे । उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरे ।

अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता रहेको उनले बताए ।पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।

प्रकाशित मिति:     २० फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar