टेलिकमका प्रबन्ध निर्देशक अधिकारीलाई कर्मचारीले रातभर कार्यालयमै थुने

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीलाई कर्मचारीले रातभर कार्यालयमै थुने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई आफ्नै कर्मचारीले रातभर कार्यालयमा थुनेका छन् । कर्मचारीहरूले आफ्ना माग पुरा गराउन दबाब स्वरुप आफ्ना प्रमुखलाई कार्यकक्षमै घेराबन्दी गरेका हुन् । बुधबार दिउँसोसम्म माग पुरा गर्ने शर्तमा बिहानपख मात्र प्रबन्ध निर्देशकलाई घर जान दिइएको छ ।

पछिल्लो केही समययता कर्मचारी विनियमावली संशोधनको विषयलाई लिएर टेलिकम कर्मचारी युनियनहरू संयुक्त रुपमा आन्दोलनरत छन् । जसमा प्रबन्ध निर्देशक, उप प्रबन्ध निर्देशक , निर्देशक जस्ता सिनियर तहका कर्मचारी स्वतः अवकाश हुने पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने उनीहरूको माग छ । यसअघि उप प्रबन्ध निर्देशक ५ वर्ष पुगेपछि तथा निर्देशक आठ वर्ष पछि स्वतः अवकासमा जानुपर्ने व्यवस्था रहेको थियो ।

तर नयाँ विनियमावली अनुसार यस किसिमको क्यापिङ हटेको छ । क्यापिङ हटाउँदा तल्लो तहका कर्मचारीको वृत्ति विकासमा अवरोध हुने भन्दै कर्मचारी युनियनले यसको विरोध गर्दै आएका छन् । उनीहरूले प्रबन्ध निर्देशक समेत आफ्नो कार्यकाल पुरा भइसकेपछि यस अघिकै तहमा फर्किन खोजेको भन्दै आफू अनुकूल विनियमावली संशोधनका लागि दबाब दिन थालेका हुन् । लोकसेवाले सिनियर तहका कर्मचारीको क्यापिङ हटाएको छ भने प्रबन्ध निर्देशकको हकमा मन्त्रिपरिषद्‌बाट स्वीकर्त निर्देशिका बमोजिम हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar