विमस्टेकको पाँचौ शिखर सम्मेलन यसै वर्ष

विमस्टेकको पाँचौ शिखर सम्मेलन यसै वर्ष

काठमाडौं, २७ फागुन । वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को शिखर सम्मेलन आयोजना गर्न तयारी अगाडि बढाइएको छ । श्रीलंकाको विदेश मन्त्रालयले आगामी अप्रिल १ मा १७ औं परराष्ट्र मन्त्रीस्तरीय भर्चुअल बैठकका लागि सबै सदस्य मुलुकलाई निमन्त्रणा पठाइएको जानकारी दिएको छ ।

श्रीलंका विमस्टेकको वर्तमान अध्यक्ष मुलुक हो । परराष्ट्रमन्त्रीस्तरीय बैठक अगाडि मार्च ३१ मा उच्च अधिकारीहरुको बैठक हुने छ । सो बैठकले शिखर सम्मेलनको मिति तय गर्ने बताइएको छ ।

श्रीलंकाले यसै वर्ष हुने शिखर सम्मेलनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्नका लागि विदेश मन्त्रीस्तरीय बैठकको आयोजना गर्न लागेको जानकारी समेत गराएको छ । तर, सम्मेलन भर्चुअल माध्यमबाट हुने कि भौतिक रुपमा नै भन्नेचाहिँ यकिन भएको छैन । यस विषयमा परराष्ट्रमन्त्रीहरुले आपसमा परामर्श गर्नेछन् ।

हरेक दुई वर्षमा हुनुपर्ने सम्मेलन सन् २०२० मा हुनुपर्ने थियो तर कोरोना महामारीको कारण आयोजना हुन सकेन । सन् २०२० मा नै भर्चुअल माध्यमबाट गर्न सकिने सम्बन्धमा विभिन्न चरण कुराकानी भएका थिए तर अगाडि बढेन । सन् २०१८ मा विमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको थियो । तेस्रो शिखर सम्मेलन सन् २०१४ मा म्यानमारमा भएको थियो ।

प्रकाशित मिति:     २७ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar