त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्ने

त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाइन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

थाई स्माइलले काठमाडौं विमानस्थलबाट पहिलो पटक नियमित उडान सुरु गर्न लागेको हो, भने श्रीलङ्कन एयरलाइन्सले कोभिड–१९ महामारीका समय स्थगन गरेको उडान पुनः सञ्चालन गर्न लागेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाई स्माइलले शुक्रबारदेखि काठमाडौं–बैंकक सिधा उडान सुरु गर्न लागेको छ । कम्पनीले आवश्यक सबै प्रक्रिया पुर्याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ ।

प्रकाशित मिति:     १७ असार २०७९, शुक्रबार  |    Himali Khabar