माग पूरा नगरेसम्म फोहोर नल्याउन बन्चरेडाँडाकाबासीको माग

माग पूरा नगरेसम्म फोहोर नल्याउन बन्चरेडाँडाकाबासीको माग

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयबासी र जनप्रतिनिधिहरूले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन गर्न नदिने अडान राखेका छन् । स्थानीय क्षेत्रमा बासिन्दालाई उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने उनीहरुको अडान छ ।

सहरी विकास मन्त्रालयमा बुधबार बसेको सरकारावाला बैठकमा धादिङका प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठीले प्रभावित क्षेत्रमा प्राविधिक टोलीमार्फत अध्ययन गरेर सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने सुझाव दिए । नुवाकोटका सांसद हितबहादुर तामाङले फोहोर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधान र बन्चेरडाँडा क्षेत्रको मुद्दामा सरकार संवेदनशील बन्नुपर्ने बताए ।

धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले साइट व्यवस्थापन सबैको साझा दायित्व भएकाले व्यवहारिक पक्षमा सरकारले नजरअन्दाज गर्न नमिल्ने बताए ।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सरकारले फोहोर व्यवस्थापनलाई नीतगत रुपमा भन्दा पनि कार्यक्रम बनाएर कार्यान्वयन गर्ने गरी हेर्न आग्रह गरे ।

प्रकाशित मिति:     १२ जेष्ठ २०७९, बिहीबार  |    Himali Khabar