सगरमाथा आरोहणको क्रममा २ नेपाली र १ विदेशी नागरिकको मृत्यु

सगरमाथा आरोहणको क्रममा २ नेपाली र १ विदेशी नागरिकको मृत्यु

काठमाडौं । यस सिजनको सगरमाथा आरोहणका क्रममा २ नेपाली सहित १ विदेशी नागरिकको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा आरोहण दलका सहयोगी निङ्मा तेञ्जिङ शेर्पा र नेपाली आरोही दिपक महतको मृत्यु भएको हो ।

त्यस्तै, आरोहण अभ्यासका क्रममा २४ वैशाखमा रसियन नागरिक ५५ वर्षीय पावेल कोस्ट्रीकिनको उचाइ (हाइ अल्टीच्यूट सिकनेस) का कारण क्याम्प १ मा मृत्यु भएको हो । नेपाली आरोही दिपक महतलाई क्याम्प २ मा उचाइका कारण विरामी परेका थिए । महतको हेलिकोप्टरमार्फत् उद्धार गरिएको भएपनि उपचारको क्रममा मृत्यु भएको हो ।

विभागका अनुसार जारी सिजनमा सगरमाथा आरोहणका लागि ७३ महिला र २४६ पुरुष गरी कुल ३ सय १९ ले अनुमति लिएका छन् । जसमा ४ सय ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । बिहीबारसम्म ओरोही र आरोहण सहयोगी दलका गरेर ४ सय ८० बढीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

प्रकाशित मिति:     ५ जेष्ठ २०७९, बिहीबार  |    Himali Khabar