मादक पदार्थ सेवन गरेको व्यक्ति मतदान केन्द्रमा जान नपाउने

मादक पदार्थ सेवन गरेको व्यक्ति मतदान केन्द्रमा जान नपाउने

काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन आग्रह गरेको छ। आयोगले एक सूचना जाारी गर्दै वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ।

मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नावालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको आयोगले जनाएको छ । तर मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएता पनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिन नहुने आयोगको सूचनामा जनाइएको छ।

त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने आयोगले जनाएको छ। उपरोक्त बमोजिमका कुनै कार्य कहींकतैबाट भएमा कानुन बमोजिम कारबाही हुने आयोगले जनाएको छ।

प्रकाशित मिति:     २९ बैशाख २०७९, बिहीबार  |    Himali Khabar