बढ्न थाल्यो बिजुली खपत

बढ्न थाल्यो बिजुली खपत

काठमाडौं । विद्युत् खपत विस्तारको गति यो पटक तीव्र देखिएको छ । गत मङ्सिर अन्तिम साता र गत वर्षको यही समयमा करिब २५ प्रतिशत खपत बढेको देखिएको हो । प्राधिकरणको तथ्याङ्कअनुसार यो अवधिमा करिब ३०० मेगावाट खपत बढेको छ ।

औद्योगिक क्षेत्र सुचारु हुने क्रम बढेको र उद्योगमा विद्युत् आपूर्ति परिमाण र
गुणस्तर पनि सुधार गरिएकाले खपतमा तीव्र विस्तार देखिएको हो । यसबाहेक आपूर्ति सुनिश्चित भएपछि घरायसी खपत र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग ह्वात्तै बढ्न पुगेको हो ।

विद्युतीय चुलो, एयर कन्डिसनलगायत विद्युत्बाट चल्ने घरायसी सामानको प्रयोगमा भएको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युत्लगायतका कारणले दैनिक रूपमा खपत बढिरहेको आकलन प्राधिकरणको छ । प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्सीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएकाले पनि माग बढेको हो ।

विद्युत्को माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवैमा बढिरहेको छ । गत मङ्सिर २७ गते प्रणालीमा विद्युत्को उच्च माग एक हजार ५३९ मेगावाट थियो । यो माग गत वर्षको सोही दिनको एक हजार २१७ मेगावाटको तुलनामा ३२२ मेगावाट बढी हो । सार्वजनिक बिदा (शनिबार) रहेको पुस ३ गतेको पिक डिमान्ड पनि एक हजार ४८४ मेगावाट रेकर्ड गरिएको छ । शनिबार दुई हजार ६१४ मेगावाट/आवर विद्युत् खपत भएको छ ।

प्रकाशित मिति:     ५ पुष २०७८, सोमबार  |    Himali Khabar