मेलम्ची खानेपानीको आयोजनास्थलसम्म सडक खोलियो

मेलम्ची खानेपानीको आयोजनास्थलसम्म सडक खोलियो

काठमाडौं । मेलम्चीको पानी अस्थायी संरचनामार्फत ल्याउन आयोजनास्थलसम्म सडक खोलिएको छ । वर्षाका कारण अवरुद्ध भएको सडक मेलम्ची खानेपानी विकास समितिले स्थानीय पालिकासँगको समन्वयमा अस्थायी रूपमा मर्मत गरेको हो ।

अहिले तत्काल नै आवश्यक उपकरण र सवारीसधन लैजान अस्थायी रूपमा सडक निर्माण गरिएको समितिले जनाएको छ । अहिले निर्माण भएको सडक आगामी वर्ष नै बाढीले क्षतिग्रस्त गर्नसक्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार तत्काल अस्थायी रूपमा पानी चलाउन सडक निर्माण गरिएको हो । अहिले निर्माण भएका सडक र पुल दुवै तत्कालका लागि र अस्थायी प्रकृतिको भएको उनले बताए ।

आयोजनाका लागि र स्थानीय बासिन्दाका लागि पनि सडक दीर्घकालीन रूपमा निर्माण गर्न आवश्यक छ । आयोजनास्थलभन्दा माथिल्लो क्षेत्रबाट पहिरोको जोखिम रहेकाले त्यसको अध्ययन भइरहेको छ । आयोजनामा सहयोग गरेको दातृ संस्था एशियाली विकास बैंकले खानेपानी मन्त्रालयसँगको समन्वयमा अध्ययन गरिरहेको छ ।

प्रकाशित मिति:     २९ मंसिर २०७८, बुधबार  |    Himali Khabar