भारतमा ओमिक्रोन भेटियो, उच्च सतर्कता अपनाउन डब्ल्यूएचओको आग्रह

भारतमा ओमिक्रोन भेटियो, उच्च सतर्कता अपनाउन डब्ल्यूएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्ररूपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।’ उनका अनुसार भारतमा पहिलो पटक दुई जनामा ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि भएको छ । उनले ओमिक्रोन भेरियन्ट कोरोनाको अन्य भेरियन्टजस्तै प्रतिकार्य गर्न सकिनेसमेत बताए ।

उनले सरकारले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपाय तथा जनसमुदायबाट रोकथाम र सावधानीका उपायको कडा पालना गर्न आवश्यक रहेको उल्लेख गरे ।
उनले मानिसले आफ्नो नाक र मुख राम्ररी छोप्नुपर्ने र राम्रोसँग ठिक हुने मास्क लगाउनसमेत आग्रह गरे । उनले खोप लगाएपछि पनि सबै सावधानी अपनाउन जारी राख्न आग्रह गरेका छन् ।

प्रकाशित मिति:     १८ मंसिर २०७८, शनिबार  |    Himali Khabar