कोभिड प्रभावित उद्योग व्यवसाय ८७ प्रतिशत पूर्ण सञ्‍चालनमा

कोभिड प्रभावित उद्योग व्यवसाय ८७ प्रतिशत पूर्ण सञ्‍चालनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकको प्रतिवेदनअनुसार कात्तिक दोस्रो सातासम्म आइपुग्दा २०७७ असारको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ।

सर्वेक्षणले ८७.२ प्रतिशत उद्योग व्यवसाय पूर्णरुपमा सञ्चालनमा आएको देखाएको छ। कोरोनापूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशतमात्र रहेको उत्पादन र कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

साथै, रोजगारीको अवस्थामासमेत सुधार आइ ७७.५ प्रतिशतबाट ९७.२ प्रतिशत पुगेको छ। बन्दाबन्दीपश्चात् औसतमा ६१ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसाय मात्र पूर्णरुपमा सञ्चालनमा रहेको देखाएको थियो।

२०७७ मङ्सिरमा प्रथम र २०७८ वैशाखमा दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको राष्ट्र बैंकले जनाएको छ। व्यवसाय सञ्चालनसम्बन्धी पछिल्लो वस्तुस्थितिबारे २०७७ असार, २०७७ मङ्सिर र २०७८ वैशाखको सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्‍क सङ्‍कलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ कात्तिक ७ देखि १७ गतेसम्म तेस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरेको छ।

कोभिड-१९ महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलो क्षति पुग्न गयो। नेपालले पनि महामारी रोकथामका लागि २०७६ चैत ११ गतेदेखि बन्दाबन्दीलगायतका उपायहरु अवलम्बन गरेको थियो। कोभिड-१९ का कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धि ऋणात्मक रह्यो।

प्रकाशित मिति:     ९ मंसिर २०७८, बिहीबार  |    Himali Khabar