घरजग्गाको मूल्यांकन मालपोतभन्दा बैंकको धेरै

घरजग्गाको मूल्यांकन मालपोतभन्दा बैंकको धेरै

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन शुक्रवार सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहका बीच घरजग्गा मूल्य सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७७/ ७८ को पहिलो नौ महीनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएको उल्लेख छ । सर्वेक्षण प्रतिवेदनमा आर्थिक वर्ष २०७६/ ७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६ दशमलव ४५ प्रतिशत रहेको पाइएको छ भने मालपोत कार्यालयबाट प्राप्त तथ्यांकको यस्तो मुद्रास्फीति १९ दशमलव ७३ प्रतिशत रहेको उल्लेख छ । मालपोतको तथ्यांकभन्दा बैंकहरुबाट प्राप्त तथ्यांकले घरजग्गा झन महंगिएको देखाएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७७/ ७८ को पहिलो नौ महीनामा यस्तो मुद्रास्फीति क्रमशः १६ दशमलव ३१ र १२ दशमलव ५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/ ७८ को पहिलो नौ महीनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमनको लागि घरजग्गा मूल्य सूचकांक तयार पारिएको नेपाल राष्ट्र बैंकले बताएको छ ।
प्रतिवेदनमा घरजग्गा सर्वेक्षणको लागि सम्पूर्ण प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्याङ्क उपलब्धता समेतलाई आधार बनाएर २० ओटा जिल्लाका २० ओटा स्थानलाई छनोट गरिएको हो । प्रतिवेदनमा मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८ हजार ९२० सर्वेक्षण संख्यामध्ये २ हजार ९६ र जग्गातर्फ ८१ हजार ९५६ मध्ये ८ हजार २४० ओटा गरी कुल १० हजार ३३६ ओटा कारोबारलाई नमूनाका रुपमा लिइएको उल्लेख छ ।

यसैगरी वाणिज्य बैंकबाट प्राप्त तथ्यांकमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १ हजार ३३२ र १ हजार १४४ गरी कुल २ हजार ४७६ ओटा कारोबारलाई नमूनाका रुपमा लिइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति:     ४ मंसिर २०७८, शनिबार  |    Himali Khabar