काठमाडौं, १८ फागुन । पछिल्लो समय पर्यटक आगमनमा सुधार देखिएको छ । अध्यागमन विभागका अनुसार सन् २०२१ को जनवरी र फेब्रुअरी महिनामा गरी कुल १८ हजार २० जना पर्यटक नेपाल आएका छन् ।
जनवरीमा ८ हजार ८ सय ७४ जना फेब्रुअरीमा ९ हजार १ सय ४६ जना पर्यटक नेपाल आएका छन् ।
यसबीचमा भारतबाट सबैभन्दा बढी संख्यामा पर्यटक आएका छन् । नेपाल र भारतबीच खुलेको सिधा हवाई सम्पर्क खुला भएसँगै भारतबाट पर्यटक आगमन वृद्धि भएको हो । भारतबाट मात्र ८७९१ जना पर्यटक नेपाल आएका छन् ।
चीनबाट २ हजार ५८५ जना पर्यटक नेपाल आएका छन् । फेब्रुअरीमा चीनबाट मात्र ७ सय ८ जना पर्यटक नेपाल आएका छन् ।
यस्तै अमेरिकी पर्यटकको आगमनमा भने उल्लेख्य वृद्धि भएको छ । जनवरीमा ८ सय ७४ जना अमेरिकी नेपाल आएकोमा फेब्रुअरीमा ११ सय २० अमेरिकी पर्यटक नेपाल आए ।
युरोपका सबै मुलुकबाट फेब्रुअरीमा ११ सय ४२ जना पर्यटक नेपाल आएका छन् । यूरोपको बेलायतबाट यो महिनामा ५ सय २४ जना नेपाल आएका छन् ।