स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरबारे अध्ययन गर्न कार्यदल गठन

स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । अर्थ मन्त्रालयले स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न बहस बारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । मन्त्रालयले अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि राजस्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो ।

आइतवार अर्थ मन्त्रालयमा स्टील उद्योगीहरुसँगको छलफलमा अर्थमन्त्री शर्माले कार्यदल बनाई अध्ययन गर्ने जानकारी दिंदै कार्यदलको अध्ययन प्रतिवेदन प्राप्त भएपछि डण्डी विवादका विषयमा आवश्यक निर्णय गरिने बताए ।
कार्यदलले दुवैथरि स्टील उद्योगहरुको सम्बन्धमा मूल्य अभिवृद्धि, विद्युत् खपत, रोजगारीको अवस्था, श्रम शक्ति, कानूनी प्रावधानहरु, छिमेकी देशहरुको अभ्यास, प्रदुषणलगायतका विषयहरुमा अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ ।

सरकारले नयाँ आर्थिक ऐनमार्फत स्पञ्ज आइरन आयातमा लाग्दै आएको ४. ७५ प्रतिशत भन्सार महशुल र अन्तःशुल्क पुरै छुट दिएको छ भने तयारी बिलेट आयातमा लाग्दै आएको ४. ७५ प्रतिशत भन्सार महशुल यथावत राखी प्रतिमेट्रिक टन २ हजार ५ सय रुपैंया अन्तःशुल्क लगाएको छ ।

प्रकाशित मिति:     २५ आश्विन २०७८, सोमबार  |    Himali Khabar