पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत भौतिक प्रगति, एक बर्षमा सक्ने लक्ष्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत भौतिक प्रगति, एक बर्षमा सक्ने लक्ष्य

काठमाडौं । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ८४ प्रतिशत काम सकिएको छ । गत साउनमा सम्पन्न हुनुपर्ने आयोजना कोभिड–१९ का कारण निर्धारित समयमा पूरा नभएको हो ।

आयोजना प्रमुख विनेश मुनकर्मीले आयोजनाको म्याद एक वर्ष थप भएकाले यस अवधिमा सबै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा आउने बिश्वास व्यक्त गरे । विमानस्थलको दुई हजार ५०० मिटर लामो रनवे गत वर्षनै सम्पन्न भएको छ । टर्मिनल भवन एटिसी टावर, ह्याङ्गरलगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर फिनिसिङ र इलेक्ट्रिक जडान कार्य भइरहेको छ ।

यस्तै ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायतका काम सम्पन्न भएको आयोजनाले जनाएको छ । जग्गा अधिग्रहणको ९९ प्रतिशत कार्य सकिएको बताइन्छ । विमानस्थल तीन हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । २२ अर्ब रुपैयाँको लगानीमा चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ ।

प्रकाशित मिति:     १४ आश्विन २०७८, बिहीबार  |    Himali Khabar