पोखरा, १७ फागुन । पोखराकाे फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर अर्थात ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा कायम भएको छ । गण्डकी प्रदेश सरकारकै निरन्तरको अग्रसरता र प्रयासपछि तालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कनका लागि गठित समितिको प्रतिवेदन आईतवार सार्वजनिक गदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी दिएका हुन ।
तालको सीमारेखाको परिधि १८ किलोमिटर कायम गरिएको छ ।
अध्ययनका लागि २०७७ कात्तिक २ गते प्रदेश सरकारले जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेललाई आफ्नो प्रतिनिधि तोकी नेपाल सरकारमा पठाएको सोही अनुसार गठित ९ सदस्य समितिले गरेको अध्ययनपछि तालको क्षेत्रफल कायम गरिएको हो । समितिले वैज्ञानिक एवं बहुआधारहरु तय गरी तालको चार किल्ला निर्धारण र सीमांकनको काम सम्पन्न गरेको हो । समितिले दिएको प्रतिवेदनका आधारमा २०७७ फागुन ११ गतेको मन्त्रिपरिषदको बैठकले तालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्सांकन सम्बन्धी निर्णय गरेको थियो । त्यसअघि २०७७ फागुन २ गते समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री शिवमाया तुम्बाहाम्फे र सचिव टेकनारायण पाण्डेलाई प्रतिवेदन पेश गरेपछि सोही दिन मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन संघीय मन्त्रिपरिषदको निर्णयका लागि हस्तान्तरण गरेका थिए ।
समितिले ताल वरपर रहेका जनप्रतिनिधि, स्थानीय वासिन्दाहरु तथा ज्येष्ठ नागरिकसँगको अन्तरक्रिया, फेवातालमा मिसिन आउने खोलाहरूको अवस्थिति र आकार, फेवा बाँधको उचाइ र वर्षाको समयमा पानीले ओगट्ने क्षेत्रफल, फेवातालका हालसम्म भएका अध्ययन प्रतिवेदनको विश्लेषण र दुर सम्वेदन तथा भू–भौतिक (इलेक्ट्रिकल रेसिसटिभिटी टोमोग्राफी) अध्ययन मार्फत वैज्ञानिक तबरबाट क्षेत्रफल कायम गरेको जानकारी दिएको छ ।