बाढीले ठूलो क्षती पुर्याएपछि मेलम्चीको पानी काठमाडौं आउने मिति अनिश्चित

बाढीले ठूलो क्षती पुर्याएपछि मेलम्चीको पानी काठमाडौं आउने मिति अनिश्चित

काठमाडौं । मेलम्ची नदीमा आइतबार पुन आएको लेदोसहितको बाढीले थप क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको छ । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताएकी हुन् ।

असार १ गते आएको बाढीले हेडवर्क्समा क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी विकास समितिको निष्कर्ष थियो, सडक विभाग र नेपाली सेनाले सघाएमा माघ–फागुनसम्म फेरि काठमाडौंमा पानी ल्याउन सकिन्छ । असार १ को बाढीपछि आयोजना पुनर्स्थापित गर्ने कार्ययोजना बनिरहँदा आइतबारदेखि थप लेदोसहितको बाढी आएपछि आयोजनाको भविष्यबारे थप आशंका उब्जिएको हो ।

‘अस्तिको बाढीले झन् निराश बनायो । अस्तिको बाढीअघि माघसम्म अस्थायी रुपमा भए पनि पानी ल्याउन सकिन्छ भन्ने थियो,’ खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले भनिन्, ‘अब त्यो समयसम्म काम गर्न सक्छौं कि सक्दैनौं भन्ने भएको छ ।’ बाढीले आयोजनाको सुरुङ जोगिए पनि बाँधसहितका बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले पुरिएका छन् । आयोजनाको संरचनामाथि नै खोला बगिरहेको छ ।

प्रकाशित मिति:     १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar