घट्न थाले फोरजीका प्रयोगकर्ता

घट्न थाले फोरजीका प्रयोगकर्ता

काठमाडौं । पछिल्लो समय नेपालमा फोरजीका ग्राहक घट्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को १० महिना (जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा प्रयोगकर्ता घटेको पाइएको हो ।

प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म ७६ लाख ९७ हजार ८६३ जना फोरजीका प्रयोगकर्ता रहेकामा जेठमा ७६ लाख ६४ हजार ४५९ पुगेको छ । गत वैशाखकोे तुलनामा जेठमा ३३ हजार ५०४ जनाले कमी आएको छ ।

नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको छ । दश महिनामा सो कम्पनीका फोरजीका ग्राहक ४८ लाख पाँच हजार पुगेको छ । गत चैत महिनामा ५० लाख १७ हजार १७० रहेको जनाइएको छ ।

वैशाखसम्म टेलिकमसँग २६ लाख ८६ हजार प्रयोगकर्ता रहेकामा जेठ महिनामा २७ लाख सात हजार ४२९ पु¥याएको प्राधिकरणले जनाएको छ । यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ५१ हजार ७१५ पुगेको छ ।

प्रकाशित मिति:     १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar