होटल तथा रिसोर्टको संकेत चिह्न निर्धारण, कुनको कस्तो ?

होटल तथा रिसोर्टको संकेत चिह्न निर्धारण, कुनको कस्तो ?

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा सञ्चालनमा आएका साधारण, पाँचतारे साथै हेरिटेज तथा बुटिक होटलहरूले आफ्नो स्तर देखाउने ( चिह्न) प्रयोग गर्नुपर्ने भएको छ । पर्यटन विभागले पाँचतारेदेखि अन्य स्तरका होटलहरूलाई सेवासुविधा, गुणस्तर र क्षमताका आधारमा ‘तारा’को रेटिङ दिँदै आएको छ ।

होटलहरूले बाहिर देखिने गरी स्टारलाई साइनबोर्डमा राख्नुपर्ने नियम यसअघि थिएन । अबको होटेलहरूले संकेत चिह्न राख्नुपर्ने भएको छ । विभागले हस्पिटालिटी क्षेत्रका सबै स्तरका होटल तथा मोटलदेखि लक्जरी हेरिटेज बुटिक होटलका साथै रिसोर्टहरूको पनि स्तर वर्गीकरण गर्दै संकेत चिह्न निर्धारण गरेको हो । पर्यटन विभागले सबैस्तरका होटेलहरूका लागि १६ वटा संकेत चिह्न तोकी ती चिह्न र साइनबोर्डमा उल्लेख गर्नुपर्ने विषयलाई राख्दै कार्यान्वयन गर्न सूचना जारी गरेको हो ।

सबैस्तरका होटेलहरूले पित्तलको प्लेट भएको साइनबोर्ड, यसको माथिल्लो भागमा नेपालको निशाना छाप र त्यसको मुनिपट्टि तोकिएको संख्याका रातो रंगका तारा राख्नुपर्नेछ । रातो रंगको तारामुनि कालो तेर्साे धर्का र त्यसमुनि होटल तथा रिसोर्टको नाम उल्लेख गर्नुुपर्ने विभागले जानकारी दिएको छ । तर, पर्यटकस्तर, मोटल, पर्यटक इन, बेड एन्ड ब्रेकफास्ट सेवा दिने होटलहरूले भने स्टार अर्थात् तारा लेख्न पाउने छैनन् ।

विभागको सूचनाअनुसार पर्यटक स्तरका होटलले प्लेटको गोलाकार रेखाभित्र रातो रंगमा ‘टीएस’ लेखिएको चिह्न राख्नुपर्नेछ । मोटलले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रंगमा ‘एम’ चिह्न, पर्यटक इनले पनि रेखाभित्रै ‘आइ’, बेड एन्ड ब्रेकफास्टले रेखाभित्रै ‘बी एन्ड बी’ले यस्ता संकेत चिह्न प्लेटमा राख्नुपर्ने विभागले जानकारी दिएको छ । एक तारेदेखि पाँच तारेहोटेलदेखि डिलक्स, लक्जरी होटेलहरूका लागि १२ प्रकारका संकेत चिह्न निर्धारण गरिएको छ । त्यसअनुसार पाँच तारा डिलक्स स्तरको होटलले साइनबोर्डमा ५ तारा र डिलक्स शब्द लेख्नुपर्नेछ । साधारण हेरिटेज बुटिक होटलका लागि भने ३ तारा र स्यान्डर्ड हेरिटेज बुटिक शब्द प्लेटमै उल्लेख गर्नुपर्ने र डिलक्स हेरिटेज बुटिकका लागि ४ तारा र नाम उल्लेख गर्नुपर्ने व्यवस्था विभागले गरेको छ । लक्जरी हेरिटेज बुटिक होटलका लागि ५ तारा, साधारण रिसोर्टका लागि ३ तारा, डिलक्स रिसोर्टका लागि ४ तारा र लक्जरी रिसोर्टका लागि ५ तारा संकेट चिह्न तोकिएको छ ।

अब यसअनुसार सबैखाले र सबैस्तरका होटल तथा रिसोर्टहरूले प्रवेशद्वारमा यस्ता चि≈नहरू स्पष्ट देखिने गरी राख्नुपर्ने विभागको भनाइ छ । विभाग र हाल प्रदेश मातहतका निकायमा दर्ता भएका पर्यटक स्तरका होटेल, पर्यटक इन, मोटल, बी एन्ड बीलगायतले पनि यी चिह्नहरू प्रयोगमा ल्याउनुपर्ने प्रावधान राखिएको छ ।

प्रकाशित मिति:     १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar