सरकारले रकम निकासा नगर्दा कोरोना बीमाको दाबी भुक्तानी रोकियो

सरकारले रकम निकासा नगर्दा कोरोना बीमाको दाबी भुक्तानी रोकियो

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको अवस्थामा साउन १ देखि कोरोना बीमालेख बन्द भएको छ ।गत बर्ष बैशाखबाट सुरु भएको कोरोना बीमाको पोलिसी अब विक्री हुने छैनन् ।

तर असार मसान्तसम्म प्राप्त बीमा दाबी आवेदनको भुक्तानी भने दिनुपर्ने छ ।सरकार (अर्थ मन्त्रालय) ले आवश्यक बजेट निकासा नगर्दा दाबी भुक्तानी अन्योलमा परेको हो ।

तत्कालीन सरकारले कोरोना बीमाको दायित्व सरकारले पनि बेहोर्ने बताएको थियो । आर्थिक वर्ष सकिँदा पनि कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थ मन्त्रालयबाट रकम निकासा भएको छैन । यस्ले भुक्तानीमा समस्या आएको छ ।

साढे ३ अर्बभन्दा माथिको दाबी सरकारले नै बेहोर्ने गर्ने अर्थ मन्त्रालय, बीमा समिति र निर्जीव बीमा कम्पनीहरू बीच सहमति भएको थियो । तर, अर्थ मन्त्रालयले यसका लागि आवश्यक बजेट नदिँदा गत वैशाखदेखि नै यसको दाबी रोकिएको छ ।

सरकारले कोरोना बीमाको लागि साढे ७ अर्ब रुपैयाँभन्दा बढी रकम निकासा गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति:     ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar