माथिल्लो तामाकोशीबाट असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने

माथिल्लो तामाकोशीबाट असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो ।

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ । हाल दोस्रो युनिटको पनि परीक्षणको काम भइरहेको छ । सो युनिटको समेत काम सम्पन्न गर्ने र राष्ट्रिय प्रणालीमा बिजुली जोड्न लागिएको हो ।

४५६ मेगावाट क्षमताको सो आयोजना निर्माण शुरु भएको झण्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गर्न लागिएको हो । प्रशारण लाइन व्यवस्थापनको काम अगाडि बढाइएको डा न्यौपानेले जानकारी दिए ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेशनमा जोड्न लागिएको छ ।

प्रकाशित मिति:     १३ असार २०७८, आईतवार  |    Himali Khabar