काठमाडौं । नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा सम्लग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित कार्यक्रममा प्रबन्धरथी उपरथी गोकुल भण्डारीले उनीहरुलाई कदरपत्र प्रदान गरेका हुन ।
सेनाको अगुवाइमा सर्वाेच्च शिखर सगरमाथा सहित ल्होत्से, मकालु, धवलागिरी, पुमोरी र आमादब्लम हिमालबाट गत चैत ३१ गतेदेखि यही जेठ १५ सम्म २७ हजार ६सय ७१ किलो फोहर सङ्कलन गरिएको छ।
अभियानका क्रममा सङ्कलन गरेको नकुहिने २५ हजार १सय ६६ फोहर प्रशोधनका लागि काठमाडौ ल्याएर सम्वन्धीत संस्थालाई हस्तान्तरणका साथै कुहिने २ हजार ५सय ५ किलो सम्वन्धित क्षेत्रका स्थानीय तहलाई बुझाइएको छ ।
सफाईका क्रममा धौलागिरी हिमालको आधार शिविरमा भेटिएका दुई शव र सगरमाथाको चौथो क्याम्पमा फेला परेका दुई शव उचित व्यवस्थापनका लागि सम्बन्धित अधिकारीलाई बुझाईका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।