निषेधाज्ञा अवधिभर खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

निषेधाज्ञा अवधिभर खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

काठमाडौं । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू भएको हो ।

नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा ती कम्पनीका प्रमुखबीच भएको छलफलपछि उक्त निर्णय कार्यान्वयनमा आएको जनाइएको छ । यो योजना निषेधाज्ञा अवधिसम्म मात्रै लागू हुनेछ । गत वर्षको बजेटमा पनि दुई कम्पनीले वितरण गर्ने खाद्यान्नमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

दुई सरकारी कम्पनीले हाल चामल, दाल, चिनी, नुन, गेडागुडी, तेल र एसटीसी ग्यासलगायतका सामान बेच्दै आएका छन् । खाद्य कम्पनीले छ प्रकारका चामल र कर्णालीको सिमीमा सरकारले तोकेको २० प्रतिशत छुट दिनेछ । साल्ट ट्रेडिङले पाँच जनासम्मको परिवारका लागि ग्यास (एसटीसी) एउटा, चिनी दुई केजी र नुन दुई केजी, भटमास तेल एक लिटर, दुई केजीको पिठोमा छुट दिनेछ ।
खाद्य कम्पनीका कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सरकारले बजेटमार्फत दिने भनेको छुट योजनाअनुसार कम्पनीले शुक्रबारदेखि नै चामल र कर्णालीको सिमी बिक्री गर्ने जानकारी दिए । उनका अनुसार कम्पनीले सोना मन्सुली चामल, जिरा मसिनो (स्टिम), स्टिम रज्जित, मध्यम मकवानपुरे चामल र कर्णालीको सिमीमा छुट दिने छ ।

खाद्य कम्पनीले यही जेठ १३ गतेदेखि लागू गरिएको नयाँ चरणको निषेधाज्ञापछि उपत्यकाका विभिन्न ठाउँमा अनलाइन वा फोनमार्फत आएका मागअनुसार निःशुल्क डेलिभरी सेवा पनि दिँदै आएको छ ।

प्रकाशित मिति:     २१ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar