काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय भारत सरकारसँग (जीटुजी) सम्झौता गरी रासायनिक मल ल्याउने तयारीमा जुटेको छ । मन्त्रिपरिषद्ले सम्झौताका लागि सैद्धान्तिक सहमति दिइसकेपछि मन्त्रालय त्यसको तयारीमा जुटेको कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।
दुवैतर्फको कागजातको अध्ययन भइसकेको र अब मन्त्रालयले सम्झौतापत्रमा कहिले हस्ताक्षर गर्ने त्यसको तयारीमा जुटेको बताइएको छ। जेठभित्रै सम्झौतापत्रमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ।
रासायनिक मल खरिदका लागि भारतसँग पाँच वर्षका लागि सम्झौता हुन लागेको छ । सुरुको वर्षमा दुई लाख मेट्रिक टन मल लिने त्यसपछि तीन लाख बिस्तारै बढ्दै गएपछि पाँच लाख मेट्रिक टनसम्म मल खरिद गर्नेगरी सम्झौता हुन लागेको हो । यसअघि बङ्गलादेशसँग पनि जीटुजी सम्झौतामार्फत ५० हजार मेट्रिक टन युरिया मल खरिद गरिसकेको छ । भारतसँग पहिलो पटक यस्तो सम्झौता हुन लागेको हो ।