अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही

अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही

काठमाडौं । टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान)ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौंको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमतिनलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको हो ।

टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र नलिएका तथा अनुमतिपत्र लिएर पनि नवीकरण नगरेका पथप्रदर्शकलाई कारबाही गरिएको जानकारी दिए ।

उनले पर्यटक पथप्रदर्शकको नलिई घुमाउने एक जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताए । टुर्गानले पर्यटक प्रहरीको सहकार्यमा काठमाडौं उपत्यकाको पशुपतिनाथ, स्वयम्भू, पाटन, भक्तपुर, वसन्तपुर दरबार क्षेत्रमा विभिन्न समयमा नक्कली पथप्रदर्शकको जाँच गर्दै आएको छ ।

उक्त टोलीले अनुमतिपत्र नलिएका तथा नवीकरण नगरेका पर्यटक पथप्रदर्शकलाई दुई घण्टा ‘होल्ड’ गर्ने र सचेत गराउने गरेको छ ।

हाल देशभर चार हजार ९९० व्यक्तिले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र लिएका छन् ।

प्रकाशित मिति:     १३ कार्तिक २०८१, मंगलवार  |    Himali Khabar