काठमाडौं । सरकारले अमेरिकाको टेक्ससमा पनि कन्सुलर कार्यालय राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले अमेरिकाको टेक्सस र क्यालिफोर्निया तथा दुबईमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेको परराष्ट्र प्रवक्ता अमृत राईले जानकारी दिए ।
अमेरिकाको टेक्ससमा प्रवासी नेपालीको संख्या बढेसँगै कन्सुलर कार्यालय राख्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक हुनुभएको थियो । राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा पुगेका बेला प्रधानमन्त्री ओलीलाई प्रवासी नेपाली मञ्च टेक्ससले ध्यानाकर्षण समेत गराएको थियो ।
करिब एक लाख हाराहारीमा नेपाली समुदायको बसोबास रहेको अमेरिकाको दक्षिण पश्चिम क्षेत्र अवस्थित टेक्सस अमेरिकाकै सबैभन्दा ठुलो मध्येको एक राज्य हो । अन्य छिमेकी राज्यमा समेत बसोबास गर्ने नेपाली मसुदायले आवश्यक कागजाद लगायतको सेवा सुविधाका लागि टेक्ससको डायलसलाई केन्द्र बनाएर कन्सुलर कार्यालय राख्न सरकारलाई गरीएको आग्रह स्विकार गर्दै निर्णय भएकोमा प्रवासी नेपाली मञ्च टेक्ससका अध्यक्ष राजु नेपालले खुशी व्यक्त गरे ।
परराष्ट्रका प्रवक्ता राईले टेलिफोनमार्फत् मन्त्रिपरिषद्को निर्णय जानकारी गराएको बताउँदै अध्यक्ष नेपालले कार्यालय स्थापनाका लागि आवश्यक समन्वय आफुहरुले गर्ने बताए । प्रवासी नेपाली मञ्च टेक्सस र नेपाली जनसम्पर्क मञ्चले कन्सुलर कार्यालय स्थापनाका लागि पहल गरेका थिए ।