तीन पर्यटन व्यवसायी एमालेको संगठनबाट दुई बर्षलाई निकालिए 

तीन पर्यटन व्यवसायी एमालेको संगठनबाट  दुई  बर्षलाई  निकालिए 


काठमाडौं । ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्ने तीन जनालाई एमालेले कारबाही गरेको छ । एमाले निकट पर्यटन व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले आधिकारिक उम्मेदवारलाई हराउन मुख्य भूमिका खेलेको भन्दै धादिङ जिल्ला कमिटी सदस्य ध्रुव अधिकारी, संगठनका केन्द्रीय सदस्य हरिप्रसाद धरेल र दामोदर ढकाललाई आगामी दुई वर्षसम्म संगठनबाट निष्कासन गरेको हो ।

टानको गत भाद्र १७ गते सम्पन्न चुनावमा एमाले र काङ्ग्रेसका साझा उम्मेदवार राजेन्द्रप्रसाद सापकोटा सहितलाई हराउन भूमिका खेलेको आरोप उनीहरुमाथि छ । 

उनिहरुले आफ्नो उम्मेदवार हराउन खेलेको भूमिकाका प्रमाणहरु भाषण, भेटघाट र सामाजिक सञ्जालमा प्रयोग गरेका तस्बिरसहितको प्रमाण नेकपा एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीलाई जानकारीको लागि संगठन विभागमा दर्ता गराइएको छ । 

 साथै बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल, धादिङ जिल्ला कमिटी, सिन्धुपाल्चोक जिल्ला कमिटी र उद्योग व्यवसायी विशेष जिल्ला कमिटीलाई समेत कारबाहीबारे जानकारी गराइएको छ ।

प्रकाशित मिति:     १ आश्विन २०८१, मंगलवार  |    Himali Khabar