बालबालिकाको मुहार हेरेर योजना बनाउँछौं, बालश्रममुक्त बागमती बनाउँछौं : मुख्यमन्त्री लामा

बालबालिकाको मुहार हेरेर योजना बनाउँछौं, बालश्रममुक्त बागमती बनाउँछौं : मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारले बालबालिकाको भविष्यलाई हेरेर योजना बनाइने बताउनुभएको छ । काभ्रेको पनौती नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणा गर्न आयोजित समारोहमा मुख्यमन्त्री लामाले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धतामा बागमती सरकारले साथ दिने बताउँदै बेसाहरा भएर सडकमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि प्रदेश सरकार संवेदनशिल रहेको बताउनुभयो ।

बालश्रमको अन्त्यका लागि बागमती प्रदेश सरकारले रणनीतिक योजना तय गर्ने बताउँदै मुख्यमन्त्री लामाले रचनात्मक कार्यका लागि बालबालिकालाई प्रेरित गर्नेगरी योजना बनाउने प्रतिवद्वता जनाउनुभयो । मुख्यमन्त्री लामाले बालबालिकाले पाउनुपर्ने बालअधिकार, स्वास्थ्य, शिक्षा र मनोरञ्जनका लागि बागमती सरकारले रणनीतिक योजना बनाउने बताउँदै लाग्ने छ । आजका बालबालिका भोलिका मुख्यमन्त्री, प्रधानमन्त्री, सचिव वा राष्ट्रसेवक नागरिक भएको उल्लेख गर्दै मुख्यमन्त्री लामाले उनीहरुको क्षमता विकासका लागि सक्दो प्रयास गर्ने बताउनुभयो ।


बालश्रममुक्त पनौती घोषणा भइरहँदा बागमती सरकारले प्रदेशभर नै बालश्रम अन्त्यका लागि पहल थालेको बताउँदै लामाले बालश्रम अन्त्यका लागि कडा कारबाहीसहितको निगरानी र अनुगमनमा लाग्ने बताउनुभयो । बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि आशाको किरण बन्नेगरी काम गर्ने बताउनुभयो । मुख्यमन्त्री लामाले बालमैत्री कानुन निर्माणका लागि संघलाई दवाव दिने र प्रदेशले पनि आफ्नो योजना अनुसारको कानुन बनाउनेगरी काम थाल्ने प्रतिवद्दता जनाउनुभयो । मुलुकको उज्ज्वल भविष्य बालबालिकाको उज्ज्वल भविष्यमाथि निर्भर रहने बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले बनाउने हरेक योजनाको केन्द्रमा भोलिको भविष्य बोकेका बालबालिकालाई राखिने बताउनुभयो ।

प्रकाशित मिति:     २९ भाद्र २०८१, शनिबार  |    Himali Khabar