एक महिनामा ४ अर्ब १९ करोडको बिजुली निर्यात

एक महिनामा ४ अर्ब १९ करोडको बिजुली निर्यात

काठमाडौं । आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला एक महिनामै बिजुली बिक्री गरी ४ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्न थालेको छ।

प्राधिकरणको प्रणालीमा हाल झण्डै तीन हजार तीन सय मेगावाट बराबरको बिजुली उपलब्ध छ। त्यसमध्ये आन्तरिक रुपमा कुल १ हजार ९ सय २९ मेगावाट बराबरको खपत भइरहेको छ।

यस्तै देशभित्रको कुल माग भने २ हजार ६ सय ३३ मेगावाट बराबर रहेको प्राधिकरणले जनाएको छ। यस प्रकारको माग भने एकाध घण्टाको मात्रै हो। साँझ र बिहान बिजुलीको बढी माग भएपनि रातको समयमा माग घट्न जाँदा निर्यात गर्नुको विकल्प प्राधिकरणसँग छैन। रातको समयमा बढी भएको बिजुली भारत निर्यात गर्दा त्यसबाट प्राधिकरणले उल्लेख्य मात्रामा आम्दानी गर्न सफल भएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। चालु आर्थिक वर्षको पहिलो महिनामा नै प्राधिकरणले उक्त मूल्य बराबरको बिजुली निर्यात भएको विवरण सार्वजनिक गरेको हो।

मुलुकभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी अतिरिक्त आम्दानी गर्न प्राधिकरण सफल भएको हो। दैनिक हिसाबअनुसार साउनमा १३ करोड ११ लाख रुपैयाँ बराबरको बिजुली निर्यात भएको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ। त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट मात्रै दुई अर्ब ६२ करोड १२ लाख तीन हजार भारु आम्दानी भएको छ। साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ५१ पैसा छ।

प्रकाशित मिति:     १२ भाद्र २०८१, बुधबार  |    Himali Khabar