काठमाडौं । सरकारले गत आर्थिक वर्षको कार्यविधिअनुसार करिब १७ करोड रुपैयाँ स्टार्जअप उद्यम कर्जा उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सरकारले १६५ स्टार्टअप तथा कम्पनीलाई उक्त रकम सहुलियत कर्जाका रूपमा उपलब्ध गराएको हो ।
सरकारले ०८० माघमा कर्जाका निम्ति स्टार्टअप कम्पनीहरूबाट परियोजना प्रस्ताव मागेको थियो । त्यसपछि स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार चरणबद्धरूपमा छनोट प्रक्रिया पूरा गरेका १६५ कम्पनी तथा फर्मलाई कर्जा उपलब्ध गराइएको हो ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ती स्टार्टअपलाई करिब १७ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको जानकारी गराएको छ । दुई किस्तामा कर्जा पाउने कम्पनी तथा फर्मले पाइसकेको र तीन किस्तासम्म रहेकालाई यो महिना (साउन)भरिमा उपलब्ध गराइने प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेले जानकारी दिए ।
सरकारले गएको वर्ष २४ करोड २५ लाख रुपैयाँ यो कर्जाका निम्ति छुट्ट्याएको थियो । त्यसमध्ये करिब २५ प्रतिशतजति अर्थात् चार करोड रुपैयाँ कर्जा सुरक्षण कोषमा राखेको थियो । बाँकी १९ करोड ४० लाख रुपैयाँमध्येबाट सरकारले कर्जा उपलब्ध गराएको