कोरोनाले बिमाको पहुँच विस्तारमा प्रभाव,२४.१ प्रतिशत नागरिक मात्र बिमा आबद्ध

कोरोनाले बिमाको पहुँच विस्तारमा प्रभाव,२४.१ प्रतिशत नागरिक मात्र बिमा आबद्ध

काठमाडौं । कोरोना महामारीका कारण कम्पनीहरूको व्यवसाय विस्तार नहुँदा बिमाको पहुँच वृद्धिदर घटेको छ ।
बिमा समितिका अनुसार २०७७ चैत मसान्तसम्ममा वैदेशिक रोजगारीमा गएका बाहेक २४.१ प्रतिशत नेपालीमा बिमाको पहुँच पुगेको छ ।

लगातार दुई वर्षदेखि बिमाको पहुँच ४ प्रतिशत बिन्दुले बढे पनि यस वर्ष भने २ प्रतिशत बिन्दुले मात्र वृद्धि भएको छ ।
बिमाको पहुँच उच्च अंकले वृद्धि भए पनि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७-७८ को बजेट वक्तव्यमा बिमा पहुँच ४० प्रतिशत पु-याउने लक्ष्य गरेका थिए । तर, कोरोना महामारीले गर्दा बजेटले तय गरेको लक्ष्यसमेत पूरा नहुने भएको छ ।

बिमा क्षेत्र पनि कोरोना महामारीले प्रभावित भएको र पहुँचदर पनि घटेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

हाल १९ जीवन बिमा, २० निर्जीवन बिमा र १ पुनर्बिमा गरी ४० वटा कम्पनीले सेवा दिइरहेका छन् । २०७७ चैतसम्म जीवन बिमा कम्पनीहरूले ७६ लाख ६१ हजार बिमा लेख बिक्रीमार्फत ९३ अर्ब ८६ करोड प्रिमियम संकलन गरेका छन् । यस्तै निर्जीवन बिमा कम्पनीले २२ लाख ४४ हजार बिमालेख बिक्रीमार्फत २३ अर्ब २ करोड बिमाशुल्क संकलन गरेको समितिले जनाएको छ ।

गत वर्षको तुलनामा जीवन बिमालेख ५.६६ प्रतिशत, जीवन बिमा शुल्क ५१.२१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी निर्जीवन बिमालेख २८.४० तथा बिमाशुल्क १६.९७ प्रतिशतले वृद्धि भएको समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति:     ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar