एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री नियुक्त

एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार संसद‍्मा विश्वासको मत गुमाएसँगै सोही दिन राष्ट्रपतिले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबारसम्मको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।

राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको हस्ताक्षरसहितको समर्थन बोकेर ओली शुक्रबार राति सवा ९ बजे प्रधानमन्त्रीमा दाबी पेस गर्न शितल निवास पुगेका थिए।

नयाँ सरकारमा नेपाली कांग्रेसले उपप्रधानमन्त्रीसहित १० वटा मन्त्रालय र एमालेले प्रधानमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्ने टुंगो लागिसकेको छ। तर, अन्य दललाई समेत सहभागी गराउनुपर्ने भएकाले मन्त्रालयको संख्या थपघट हुन सक्ने बताइएको छ।

प्रकाशित मिति:     ३१ असार २०८१, आईतवार  |    Himali Khabar