ठमेल नेपालको पर्यटका लागि उत्कृष्ट हब हो । यहाँ नेपाल घुम्न आएका ८० प्रतिशत पर्यटक विभिन्न बहानामा ठमेल आइपुग्छन् । यस हिसाबले ठमेलमा हुने क्रियाकलापले विश्वस्तरमै नेपालबारे सकारात्मक वा नकारात्मक दुबै सन्देश प्रवाह गर्छ । यो कुरालाई मध्यनजर गर्दै मेरो नेतृत्वमा ठमेलको पूर्वाधार विकास, सुरक्षा व्यवस्थापन लगायतका विषयमा या दुई वर्षमा धेरै काम भएका छन् ।
हिजो हामीले ठमेल विकासको गुरुयोजनाको डकुमेन्टेसनको काम सकेका छौं । त्यो गुरुयोजना अनुसारको अहिले कामहरु अघि बढिरहेको छ । अब यसलाई पूर्णता दिनका लागि पनि पुनः मेरो नेतृत्वको खोजी यहाँका व्यवसायी र घरधनीहरुले गर्नुभएको छ । अर्को ठमेललाई गएको जनवरीदेखि चौबिसै घण्टा खुला गरिएको छ । अब त्यसको व्यवस्थापनका लागि धेरै कामहरु गर्न बाँकी छ । हिजो मेरै नेतृत्वमा बनेको आचारसंहिता कार्यान्वयनका लागि पनि तपाईको नेतृत्व जरुरी छ भन्ने सुझाव धेरैले दिनुभएको छ । यसलाई व्यवस्थित गर्न सकिएन, चौबिस घण्टा ठमेल खुला गर्ने घोषणा केबल घोषणा मात्र सिमित भयो भने आन्तरिक रुपमा मात्र होइन विदेशमा पनि नकारात्मक सन्देश जान्छ । र त्यसले दीर्घकालसम्म ठमेलको पर्यटन विकासमा ब्रेक लगाउने चिन्ता व्यक्त भइरहेको छ । त्यो हुन नदिई ठमेललाई चौबिसै घण्टा पारिवारिक वातावरणमा संचालन गर्न जरुरी छ । यहाँ आउने स्वदेशी एवम विदेशी पर्यटकलाई सुरक्षित बनाएर ठमेलको पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ । त्यो ठेमलका व्यवसायी र घरधनीको सपनालाई साकार पार्न पनि मलाई नेतृत्वमा दोहोर्याउन दबाव र सुझाव दुबै आइरहेको छ। त्यसकारण उहाँहरुको सल्लाह, सुझावलाई मनन गर्दै मैले पुनः एक कार्यकाल नेतृत्वमा दोहोर्याउने मनस्थिती निर्माण गरिसकेको छु ।
दुई वर्षअघि मेरो नेतृत्वको टिम ठमेल पर्यटन विकास परिषद्मा आउँदा जुन खालको ठमेल निर्माणको परिकल्पना गरिएको थियो । त्यसलाई साकार बनाउन अर्को दुई वर्ष अधिकत्तम पहल गर्ने योजना सहित म अघि बढिसकेको छु । मलाई विश्वास छ यो पटक मलाई यहाँका व्यवसायी र घरधनीहरुले विगतको भन्दा साथ र सहयोग गर्नुहुने छ ।
दुई वर्षे कार्यकालको समीक्षा
यो दुई वर्षमा हामीले ठमेलको सुधार, व्यवस्थापन र पर्यटन प्रवद्र्धनका लागि गर्न सक्ने अधिकत्तम प्रयासहरु गरेका छौं । धेरै कामहरु भएका पनि छन् । हिजो तपाईहरु ठमेल आउँदा पोलपोलमा गुजुल्टिएका तारहरुले ठमेललाई कुरुप बनाएको देख्नु हुनथ्यो । आजका ९० प्रतिशत त्यसको व्यवस्थापन गरेका छौं । ठमेलको सुरक्षा संवेदनशिलतालाई मनन गर्दै डिजिटल रुपमा नियमन गर्न गल्ली–गल्लीमा सिसिक्यामेरा जडान गरिसकेका छौं ।
सडकहरु हाम्रै प्रयासमा पीच भएका छन् । सडक बत्तीहरु जडान गर्ने कामले तीब्रता पाएको छ । सामुहिक सुरक्षा गस्तीको योजना लिएका आइरहका छौं । यी यस्ता धेरै कामहरु हामीले गरेका छौं । पूर्वाधारसँगै प्रवद्र्धनका हिसाबले ठमेललाई फेरि ठमेलमा जाऔं, ठमेलमै बसौं र ठमेलमै रमाऔं भन्दै स्वदेशदेखि विदेशसम्म प्रवद्र्धन गर्नुपर्ने खाँचो छ । त्यसका लागि पुन ः नयाँ जोश, उत्साह र अनुभवका साथ अबको दुई वर्ष काम गर्ने लाग्ने योजना बनाएको छु । विश्वास छ त्यो अवसर प्राप्त हुने नै छ ।
(परिषद्का अध्यक्ष भविश्वर शर्मासँगको कुराकानीमा आधारित)