कांग्रेस र एमालेले तीन-तीन प्रदेश लिने सहमति, मधेशको नेतृत्व मधेशकेन्द्रित दललाई

कांग्रेस र एमालेले तीन-तीन प्रदेश लिने सहमति, मधेशको नेतृत्व मधेशकेन्द्रित दललाई

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएको छ । 

सोमबार मध्यराति कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमति अनुसार सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् र चुनावी सरकारको नेतृत्व भने कांग्रेस सभापति शेरबहादुर देउवाले लिनेछन् । 

केन्द्र सरकारसँगै प्रदेश सरकारको नेतृत्वको विषय पनि टुंगिएको कांग्रेसका तर्फबाट वार्तामा सहभागी एक नेताले बताए । उनका अनुसार प्रदेशमा कांग्रेस र एमालेले तीन-तीन प्रदेशको नेतृत्व लिने सहमति भएको छ । ती नेताले दिएको जानकारी अनुसार कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिनेछ । यस्तै, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेशको नेतृत्व लिनेछ । मधेश प्रदेशको नेतृत्व भने मधेशकेन्द्रित दललाई नै दिने सहमति भएको ती नेताले बताए ।

केन्द्र सरकारमा केही साना दललाई पनि सहभागी गराउने सहमति कांग्रेस-एमालेबीच भएको उनले बताए । ‘दुई तिहाइ बहुमत पुर्‍याउन मधेशकेन्द्रित र साना दललाई सरकारमा सहभागी गराउने सहमति भएको छ,’ उनले भने ।

प्रकाशित मिति:     १९ असार २०८१, मंगलवार  |    Himali Khabar