कर्मचारीको पारिश्रमिकलगायतमा थप ४ अर्ब ५ करोड खर्चिन अर्थ मन्त्रालयको अख्तियारी

कर्मचारीको पारिश्रमिकलगायतमा थप ४ अर्ब ५ करोड खर्चिन अर्थ मन्त्रालयको अख्तियारी

काठमाडौं। अर्थ मन्त्रालयले कर्मचारीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्तालगायत शीर्षकमा थप रकम खर्चिन मातहतका निकायलाई अख्तियारी दिएको छ।

सामाजिक सुरक्षा भत्ता, पारिश्रमिक आदिका लागि गृह मन्त्रालयलगायत विभिन्न निकायबाट थप बजेट निकासा मागिएपछि अर्थमन्त्री वर्षमान पुनले अख्तियारी दिएका हुन्।

कर्मचारीको पारिश्रमिक र सामाजिक सुरक्षा भत्ता शीर्षकमा विनियोजित रकममध्ये कुनै क्रियाकलापमा रकम अपुग हुने र सोही खर्च शीर्षकको अर्को क्रियाकलापमा रकम बाँकी रहने अवस्थामा खर्च समायोजन गरी भुक्तानी निकासा गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ।

उल्लिखित भुक्तानी निकासाबाट पनि अपुग भएको अवस्थामा कर्मचारीको पारिश्रमिकमा ३ अर्ब ८० करोड र योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोषमा २५ करोड गरी जम्मा ४ अर्ब ५ करोड खर्चिन गरी महालेखा नियन्त्रक कार्यालयमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अख्तियारी दिने निर्णय भएको सचिव मरासिनीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति:     १३ असार २०८१, बुधबार  |    Himali Khabar