ट्यांकर चालक र सरकारबीच चारबुँदे सहमति,खुले पम्पहरु

ट्यांकर चालक र सरकारबीच चारबुँदे सहमति,खुले पम्पहरु

काठमाडौं । आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच चारबुँदे सहमति भएको छ। सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि पेट्रोलियम पदार्थको ढुवानी सुचारू गर्ने सहमति भएको हो। सहमतिपत्रमा संघका अध्यक्ष ईश्वर लामा र नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले हस्ताक्षर गरेका छन्।

संघले राखेको सातबुँदे मागको सम्बोधन गर्न निगमका नायब कार्यकारी निर्देशकको नेतृत्वमा समिति गठन गरिएको छ। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ।

त्यस्तै, निगमले व्यवसायीलाई दिंदै आए बमोजिमको पारिश्रमिक र सुविधा चालक, सहचालक र मजदूरलाई उपलब्ध गराउने सहमति भएको छ। यससँगै संघले आजैदेखि आन्दोलन फिर्ता लिएर पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमति बनेको छ।

संघ र सरकारबीच भएको सहमति ः

– नेपाल पेट्रोलियम ट्यांकर चालक संघको सात बुँदे माग लगायत यस क्षेत्रमा देखा परेका समस्याको समाधान गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निगमका नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्त्व हुने गरी एक उपसमिति गठन गर्ने।

– नेपाल आयल निगमले व्यवसायीलाई दिई आए बमोजिमको पारिश्रमिक र सुविधा ट्यांकर चालकरसहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता व्यक्त गर्ने।

–आजै मिति २०८१–०३–०३ देखि ट्यांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने सहमति भयो।

–विद्यमान कानूनी व्यवस्थाको पालना सम्बन्धमा नियमित रूपमा प्रभावकारी अनुगमन गर्ने।

प्रकाशित मिति:     ४ असार २०८१, सोमबार  |    Himali Khabar