काठमाडौंका निजि पेट्रोल पम्प बन्द, सरकारी पम्पमा इन्धन भर्नेको लाइन

काठमाडौंका निजि पेट्रोल पम्प बन्द, सरकारी पम्पमा इन्धन भर्नेको लाइन


काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न ७ बुँदे माग राखेर आन्दोलन गरेसँग काठमाडौं उपत्यकाका पेट्रोल पम्प बन्द छन । इन्धनको आपूर्ति अवरुद्ध हुँदा निजि पम्पहरू बन्द छन भने सरकारी  पम्पहरुमा इन्धन भर्न सवारी साधनको लाइन लागेको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका पम्पमा इन्धन भर्नेको लाइन छ ।

संघमा आवद्ध ढुवानी चालकहरुले पूर्वघोषित कार्यक्रम अनुसार ट्याँकरको साँचो सवारी सञ्चालकलाई हस्तान्तर गरेर ढुवानी अवरुद्ध गर्दा काठमाडौं उपत्यकामा इन्धनको आपूर्ति अवरुद्ध भएको हो । चालकहरुले चालक र सहचालकले श्रम ऐन अनुसार नियुक्तिपत्र पाउनुपर्ने तथा सरकारले तोकेको तलब पाउनुपर्ने माग गरेका छन् ।

यस्तै स्वरोजगारको हकमा मात्र लागु भएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, इन्धन ढुवानी गर्दा इन्धनको तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने, समाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ता उपलब्ध गराउनुपर्ने तथा चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सर्तकता सम्बन्धी तालिम उपलब्ध गराउनुपर्ने माग राख्दै ढुवानी चालकहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति:     ४ असार २०८१, सोमबार  |    Himali Khabar