नुवाकोटको रातमाटेमा बन्ने सबस्टेसनको ठेक्का लाग्यो

नुवाकोटको रातमाटेमा बन्ने सबस्टेसनको ठेक्का लाग्यो

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति ९एमसीए–नेपाल०ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।

एमसीए नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे जानकारी दिएको हो । उक्त ४०० केभी ग्यास इन्सुलेटेड स्वीचगियर ९जिआइएस० सवस्टेसन ३९ महिनाभित्र निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेसनमध्ये एउटा हुनेछ ।

पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसीए–नेपालले जनाएको छ ।

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले एमसीसी र एमसीए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेर आदानप्रदान गरे । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीन वटा सवस्टेसनमध्ये एमसीए नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेशन निर्माण सम्झौता हो ।

उक्त सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, “नेपालको प्रसारण प्रणाली विकास योजना ९टिएसडिपीएन० मा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्वपूर्ण अङ्गका रूपमा परिकल्पना गरिएको ४०० केभी रातामाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्को महत्वपूर्ण उपलब्धि हुनेछ ।”

प्रकाशित मिति:     २ असार २०८१, शनिबार  |    Himali Khabar