धमाधम निषेधाज्ञा थप गर्दै स्थानीय प्रशासन, ७४ जिल्ला निषेधाज्ञा जारी

धमाधम निषेधाज्ञा थप गर्दै स्थानीय प्रशासन, ७४ जिल्ला निषेधाज्ञा जारी

काठमाडौं । कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा थप गर्दै नियन्त्रण प्रयास जारी राखेका छन् । आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा हुँदा प्रशासनले म्याद थप गर्दै निषेधाज्ञा जारी राखेका हुन् । पछिल्लो समय गाउँगाउँमा सङ्क्रमण फैलिँदो क्रममा रहेको छ । नेपालमा गत वैशाख ७ गतेदेखि शुरु भएको निषेधाज्ञामा सङ्क्रमणमा आएको बढोत्तरीसँगै समय थप गरेर अझै आदेशलाई कडाइ गरिँदै छ । पछिल्लो समय कतिपय जिल्लाले दुई हप्ताका लागि आदेश थप गरेर कार्यान्वयनमा लगेका छन् भने कतिपय जिल्लाले हप्ता-दश दिन तोकेर थप गर्दै कोभिड–१९ सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् ।

पछिल्लो समय भने निषेधाज्ञाको असर बिस्तारै देखिन थालेको छ, जसका कारण सङ्क्रमण दर क्रमशः घट्दो क्रममा रहेको र निको हुने दर वृद्धि भइरहेको छ । अझै निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको गृह मन्त्रालयले जनाएको छ ।

हिजो मात्रै ताप्लेजुङ र लमजुङले एक साता, काभ्रेपलाञ्चोक र सङ्खुवासभाले १० दिन, बैतडी र नुवाकोटले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाले भने यही जेठ १३ सम्मका लागि आदेश जारी गरिसकेका छन् । अब निषेधाज्ञा जारी गर्न बाँकी जिल्लामा मनाङ, तेह्रथुम र खोटाङ छन् ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउँछन् ।

प्रकाशित मिति:     ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar